जुवाडेले जुवा खेल्छ, तास हैन
तिमीसँग पैसा फ़्याल्न, रास छैन
पकाई दाल खाउँलाउँ, निस्तो मास हैन
त्याग्नुपर्ने त चिन्ता हो नि, सास हैन
निर्माण, रचना विलक्षण हुन्, विनाश हैन
आँधिबेरिमा रुख ढल्ला, तर बाँस हैन
फौजीको परिवार उसको अवकास खोज्छ, लास हैन
अनि कलिला मनलाई खुशीको आभास दिनु, त्रास हैन
{अब म आफ्नो नै कुरा गर्छु !
बैरागी भन्लान्, जेसुकै भन्लान्,
तर म आफैँ नै बन्छु !!}
आफु सबैभन्दा सुन्दर मान्ने, म कुनै रजहाँस हैन
महान् हुन विशाल हुन, म आकाश हैन
साँचो मनले दिउँला, केहि खास छैन
तर नहेप कदापि !
साथि हुँ म तिम्रो, कुनै दास हैन
मायाको अर्थ नै बिगारिदिने, म रन्डीबाज हैन
भरोसा गर्छु अनि विश्वास पनि, अन्दाज हैन
बरु दुश्मन होलास् तँ, तर मेरो लक्ष्य खास तेरो नाश हैन
इच्छा छैन खासै, म त्यागि नै दिउँला,
तर मनको प्रेम, सत्य र सपना साँचेको छु !
त्यागुंला धेरै, तर गाँस-बास चैं हैन
राम्रो खाउँ, लाउँ भने खासै कामकाज छैन
र टाढै देखि सिकार देख्ने, म कुनै बाझ हैन
सिंहासनमा तिमीलाई राख्न, मेरो कहीं राज छैन
शिरमा लाउने शोभा बढाउने, म कुनै ताज हैन
सभ्यतालाई मान्छु, तर मसँग कुनै जहाज छैन
स्वतन्त्र भई सत्यमा हिंड्छु, त्यसैले कुनै लाज छैन
आलोचनाको कुनै भय वा तारिफको अभिलाषा छैन
तैपनि तिमीले कुल्चीहिंड्ने, म कुनै घाँस हैन
तिम्रो मनै फुरुङ्ग बनाइदिने, म सुमधुर साँझ हैन
तर अन्धकार फैलाई घोर निराशा ल्याउने, म सत्यानाश पनि हैन
म हैन
म कल्याणी हैन
म हैन
म तर दोषी पनि हैन
म हैन, म हैन
म हैन, म हैन
हो !
तिमीले मतलब दिएको म कोहि पनि हैन !!
[ को हौ त तिमि? ]
[म इच्छा हुँ
आनन्दको आभास भएको,
शान्ति ल्याउने शक्तिको वरदान पाएको तत्व हुँ म
तर सुख बुझ्न दु:ख पनि बुझ्नुपर्छ...
असत्यको बाटोमा लागेका ज्ञान या अज्ञान,
घृणा, इर्श्या, काम, क्रोध, मोह, चिन्ता,
या त्यस्तै अरु कुनै कुराबाट चालित अन्याय र हिँसा नै दु:खको मुख्य कारण रहेछन् ।
र त्यसको समाधान न्याय र शान्ति नै रहेछन् ! प्रेम र विश्वास नै रहेछन् ! सत्य र धर्म नै रहेछन् ।
मैले धेरै अघि छान्नुपर्ने थियो कि म शान्ति बन्ने थिएँ कि न्याय, तर मैले तौलिन सकिन कुन धेरै महत्वपूर्ण भनि ! न्याय र शान्ति सधैं एकअर्काबाट भिन्न हुँदा रहेछन् ।
न्यायले हिंसाको पनि प्रयोग गर्छ, तर शान्तिले अस्तव्यस्तता छाए, अन्याय गर्नेलाई दण्ड दिंदैन ।
अनि त्यहीबेला मैले मागें कि म कोहि पनि हैन... ।
म यिनीहरुभन्दा निकै भिन्न हुनेछु ।
मलाई कमैले चिन्नेछन् होला, तर मन चिन्नेहरुलाई खुशी अनि आनन्द दिनेछु ।
सत्य नचिन्ने र दमन गर्ने हर एक शोषकलाई दु:ख, त्रास अनि विनाश दिनेछु ।
आफ्नो भाग्य आफैं बनाउनेछु, आशा हुनेछु र सदा अमर हुनेछु]
तमाशा हैन म आशा हुँ, स्वतन्त्रताको परिभाषा हुँ ।
दया खोज्छु म माया खोज्छु, न्याय दिउँला तर शान्ति रोज्छु ।
देवता हैन म आशा हुँ, स्वतन्त्रताको परिभाषा हुँ ।
एक सपना हुँ म आशा हुँ, स्वतन्त्रताको परिभाषा हुँ ।
निराशा चिन्छु तर आशा हुँ, शक्ति, साहस छ, एक राजा हुँ ।
एक सपना हुँ म आशा हुँ, स्वतन्त्रताको परिभाषा हुँ ।
निराशा एक क्रुर पासा ।
विश्वासिलो असल मित्र मात्र आशा ।।
- सचेत 'परमभक्त'
(A poetic literature piece in my native tongue (Nepali).)
No comments:
Post a Comment