Tuesday, December 3, 2024

कविता : मूल्य

 गरेर कठिन काम, कमाउँछन् परिश्रमी

साहुले दिन्छन् दाम, उसलाई छ र के कमी ?

हो! खानलाई माम ! तर अन्योल, कि हट्ला गरिबी यो कैले । 

उद्यमीलाई के को पिर, सोच्छ संसार यो फेर्नुछ मैले !

भण्डारमा छ तिनकै रजाईं, बुझ्दैनन् के हो श्रमशोषण!

एक थोपा पसिना बगाउनुपर्दा हुनेगर्छन् मरेतुल्य!

अधिक सोच्छन्, गरेको छु मैले गरिबको पालनपोषण,

के थाहा तिनलाई कि के हो पसिनाको मूल्य ?


सुनौला हार, हिरामोती जडित,

दियौ उपहार, तर त्यो कहिलेसम्म लाउनु ?

गर्छौ नरसंहार, यदि कथंकदाचित, 

यो सुन्दर संसार, तिम्रोमात्र होइन थाहा पाउनु। 

धनले किनेको शक्ति , छ अहंकार, तर होइन त सबै भ्रम ?

यहाँ रोग छन् अनेक, मृत्यू छ सत्य, मात्र जीवन अमुल्य !

चाहना छन् सबका, नबुझी करुणा नै मार्छन्, अनभिज्ञ, समय छ कम !

के थाहा तिनलाई कि के हो रगतको मूल्य ?


- सचेत 'परमभक्त' 

(A poem in my native tongue (Nepali) titled 'मूल्य' meaning Price.)

(Published in ratopati.com)

No comments:

Post a Comment